मलेसियामा नेपालीले नेपालीलाई छुरा हानेर हत्या

324

माघ १९,
काठमाडौं । आफ्नै साथीको छुरा प्रहारबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए । कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए । तीन वर्ष पहिले मलेसिया गएका उनको एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।