चन्दा उठाएर शिक्षकलाई तलब

335

भीमदत्तनगर । कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका अभिभावकले चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाउँदै आएका छन् । जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा संकलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए । ९५ प्रतिशत आदिवासी÷जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल २७५ जना विद्यार्थी रहेका छन् । हरेक वर्ष विद्यार्थी भर्नाका बेला अभिभावकले स्वइच्छाले दिएको चन्दाले दुई शिक्षकलाई वर्षभरि तलब खुवाउनुपर्ने बाध्यता रहेको छ । स्थापना भएको लामो समय बितिसक्दा पनि स्कुलको अवस्थामा कुनै सुधार आउन सकेको छैन् । निजीस्रोतका शिक्षकलाई मासिक रु ३५ सय र रु छ हजार दिएको छ ।