चिनीको मूल्यमा नयाँ रेकर्ड कायम

292

फागुन १७,
काठमाडौं । काठमाडौंभित्रै ९५ रुपैयाँ प्रतिकिलो पुगेको चिनी काठमाडौं आसपासकै ग्रामीण क्षेत्रहरुमा एक सय रुपैयाँ नाघिकसेको छ । साल्ट ट्रेडिङको चिनी गोदाम रित्तिँदा पनि सरकारले बेवास्ता गरेपछि चिनीको मूल्य रेकर्ड बिन्दमा पुगेको छ । खुद्रा ब्यपार संघका अध्यक्ष पवित्र बज्राचर्यका अनुसार यसअघि चिनी अधिकतम् ९० रुपैयाँभन्दा माथि लागेको थिएन । नाकाबन्दीको समयमै पनि चिनी किलोको ८५ रुपैयाँ नाघेको थिएन । तर, अहिले दुईसाताभित्रै किलोको १० देखि १५ रुपैयाँसम्म महंगिएको छ । बजारमा अभाव भएर वा माग बढेर चिनी महंगो भएको हैन, विनाकारण नै होलसेलमा मूल्य बढेर आएको छ । यसैका कारण खुद्रा पसलमा चिनीले सय रुपैयाँ मूल्य काटेको छ । साल्ट ट्रेडिङले मौज्दात राखिन्जेल बजारमा चिनीको मूल्य बढाउने आँट चिनी उद्योगी गर्दैनन् । तर, अहिले साल्ट ट्रेडिङलाई कमजोर पारेर सरकारी अधिकारी, चिनी उद्योगी, ठूला ब्यापारीबीच चिनीको मूल्य बढाउन साँठगाँठ भएको आरोप उपभोक्तावादीहरु लगाउँछन् ।खुद्रा ब्यपारी पनि चिनी उद्योगी र ठूला ब्यापारीले लगातार मूल्य बढाइरहँदा सरकारले नियन्त्रणमा लागि कुनै कदम नचाल्नुले भित्री रुपमा ठूलो आथिर्क चलखेल हुनसक्ने आशंका बढाएको बताउँछन् । नेपाली चिनीलाई प्रोत्सहन गर्ने नीतिअनुरुप विदेशबाट चिनी आयातमा सरकारले रोक लगाएको छ । मूल्य नियन्त्रण गर्ने निकाय साल्ट ट्रेडिङलाई बेलैमा चिनी ल्याउने अनुमति नदिएर प्रचण्ड सरकारले चिनीको मूल्यमा रेकर्ड राखेको छ । उपभोक्ता पनि सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि आयात रोक्नु जायज भएपनि कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि रोक्नेतर्फ ध्यान नदिनु अचम्मलाग्दो भएको बताउँछन् ।