Sunday, September 27, 2026
Home Uncategorized राष्ट्र बैंकको कडाइपछि अटो क्षेत्रको कारोबार ५० प्रतिशतमा खुम्चियो

राष्ट्र बैंकको कडाइपछि अटो क्षेत्रको कारोबार ५० प्रतिशतमा खुम्चियो

245

नेपाल राष्ट्रबैंकले सवारी कर्जा प्रवाहमा कडाइ गरेपछि अटोमोबाइल क्षेत्रको कारोबार निरन्तर ओराले लागेको छ। वाणिज्य बैंकहरुमा अधिक तरलता अभाव भए पछि राष्ट्रबैंकले सवारी कर्जाको सीमा ५० प्रतिशतमा झारेपछि अटोमोबाइल क्षेत्रको कारोबार ओरालो लागेको हो।
‘गाडी खरिद गर्न चाहाने ग्राहकलाई ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्थे,’ सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजबाबु श्रेष्ठले भने, ‘बैंकले कर्जा प्रभाव ४० प्रतिशतसम्म कटौती गरेपछि त्यसको प्रत्यक्ष असर अटोमोबाइल क्षेत्रमा परेको हो।’
नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष तथा अटोमोबाइल्स् डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष शेखर गोल्छाले अटोमोबाइलको कारोबार ५० प्रतिशतमा सिमित भएको बताए।
‘राष्ट्रबैंकले यो क्षेत्रलाई अनुत्पादक क्षेत्रको सूचीमा राखेकाले कारोबार ५० प्रतिशत खुम्चिएको हो,’ उनले नेपालखबरसँग भने, ‘राज्यलाई सबैभन्दा धेरै राजस्व उठाएर बुझाउने क्षेत्र कसरी अनुत्पादक भयो?’  बैंकहरुमा अधिक तरलता अभाव देखिएपछि केही महिनाअघि राष्ट्रबैंकले सवारी कर्जामा कडाइ गरेको थियो। बैंकहरुसँग लगानीयोग्य पूँजीको अभाव भएको र सीसीडी रेसियो पनि नाघेकाले सवारी कर्जामा कडाइ गरेको हो।
व्यवसायीका अनुसार दुइ महिना अघिसम्म मासिक रुपमा १ हजार ६ सय देखि २ हजार थान गाडी विक्री हुन्थ्यो। तर, अहिले मासिक रुपमा ८ सय देखि १ हजार थान गाडी विक्री हुन पनि मुस्किल परेको सीइओ श्रेष्ठले जानकारी दिए। व्यवसायीका अनुसार ७ हजार थान भन्दा बढी गाडी भन्सारमै रोकिएर बसेको छन्।
‘बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने भएकाले गाडी किन्ने मानिसले सतप्रतिशत रकम जुटाउन सक्दैन्,’ पूर्व अध्यक्ष गोल्छाले भने, ‘माग कम भएकाले सबै कम्पनीले आयात गरेको गाडी भन्सारमै थन्किएर बसेका छन्।’  राष्ट्रबैंकले लगाएको सीमाले दुइपांग्रे सवारी साधनमा ठूलो असर नगरे पनि चार पांग्रे सवारी साधनको विक्री ठूलो असर परेको छ। विशेषगरी, राष्ट्रबैंकले घरकर्जा, तथा सवारी कर्जामा लगाएको सीमाका कारण दुवै क्षेत्रमा ठूलो असर परेको व्यवसायीहरु बताउँछन्।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्म यो सीमालाई कायम गर्ने बताएको छ। चालू आवसम्म कुनै पनि बैंकले सवारी कर्जा नदिने राष्ट्रबैंकले जनाएको छ। अधिकाशं बैंकको सीसीडी रेसियो ८० प्रतिशत भन्दा बढी भएकाले राष्ट्रबैंकले हस्तक्षेप गरेको हो।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनीलकेशरी साहले राष्ट्रबैंकले लगाएको सीमालाई पालना गर्ने बताए।
‘सीसीडी रेसियो ८० प्रतिशत भन्दा बढी जान दिनु हुँदैन,’ उनले भने, ‘राष्ट्रबैंकले सही बेला निर्णय लिएको हो।’  राष्ट्रबैंकले दीर्घकालीन रुपमा सवारी साधानमा लगाउँदै आएको लगानीलाई ५० प्रतिशतमा मात्रै सिमित गर्यो भने समस्या हुने उनको भनाइ छ। ‘तर, राष्ट्रबैंकले चालू आर्थिक वर्षको अन्त्यसम्मलाई मात्रै यो सीमा लगाएको हो’ उनले भने, ‘त्यसपछि बैंकहरुले पुरानै अवस्थमा लगानी गर्न सक्छन्।’