अछाममा हावाबाट बिजुलि निकालिदै

281

लालबहादुर विक
अछाम । अछाम जिल्लाको कमलबजारमा हावाबाट बिजुली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । अछामको कमलबजारमा हावाबाट बिजुली बाल्ने उद्देश्यका साथ मंसिर महिनाको तेस्रो हप्ताबाट सञ्चालन गरिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि विद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ । उक्त आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पान गरी कमलबजार नगरपालिकाभित्र विस्तार गरिने छ । सोलार जडान र तार जोड्ने तथा केही विद्युतीय खम्बा गाड्ने काम बाँकी रहेको आयोजनाका उपभोक्ता समिति अध्यक्ष नृप बोहराले जानकारी दिए । उनले यी काम पनि पुस महिनाभित्र सक्ने योजनामा रहेको बताए । यहि माघ १ गतेबाट कमलबजारमा बिजुली बाल्ने गरी काम भइरहेको स्थानियको भनाई छ । हाललाई १ सय ४७ घरमा विद्युत् बाल्ने र केही समयभित्रै दुईसय घरधुरी समेट्ने योजना छ । वैल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड ५४ लाख र स्थानीयको ३० लाख प्रत्यक्ष लगानी गरिएको छ भने स्थानीयले जनश्रमदानसमेत गरिरहेका छन् । स्थानीयले ३० लाख जुटाउनुका साथै विद्युत् भवन निर्माण, बिजुलीको तार र घरमा वाइरिङका काम गर्नुपर्नेछ । आयोजनाका लागि स्थानीयको ३० लाख जुटाउन सकस भइरहेको समिति अध्यक्ष बोहराले बताए । १२ महिना, २४ घण्टा निरन्तर हावा चलिरहने कमलबजारमा हावाबाट विद्युत् बल्ने भएपछि कमलबजार र त्यस आसपासका नागरिक अत्यन्तै खुसी र उत्साहित भएका छन् । अछाममा हावाबाट बिजुली बालिने यो पहिलो प्रयास हो ।