सशस्त्र प्रहरीद्धारा लागूऔषध सहित भारतीय पक्राउ

301

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ११ खैराटोलबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मंसिर ३० गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामणि ११ बस्ने २० वर्षिय आशिष ठाकुर र सोहि ठाउँ बस्ने २५ वर्षिय आनन्द दुवे छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्ने क्रममा बिआर ३२ बि ३८२० नम्बरको मोटरसाईकलमा सवार निजहरुको साथबाट गाँजा ६० ग्राम र चरेश ३ ग्राम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुको साथबाट एक थान चक्कु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथ चक्कुसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।