प्राधिकरणले माग्यो जनताको सहयोग

255

काठमाडौं । विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन आम जनतासंग सहयोग मागेको छ । बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको पिक आवरमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो । लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ । छ घण्टा बाहेक जुन सुकै समयमा यी उपकरण चलाउन सकिनेछ । प्राधिकरणका अनुसार पिक आवरमा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ । दिनभर यो २०० मेगावाट मात्र रहेन र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । राजधानीमा आसपासकै भोटेकोशी, खिम्ती एवं त्रिशुली करिडोरका परियोजनाबाट विद्युत आपूर्ति हुने गरेको छ । त्यस बाहेक पिक आवरमा कुलेखानीको समेत सहयोग रहन्छ । पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाइ बत्ति बाल्ने, टिभी हेर्ने लगायतका काम मात्र गर्ने हो भने लोडसेडिङ व्यवस्थापन सहजैहुने प्राधिकरण भनाई रहेको छ ।