Thursday, October 1, 2026
Home Uncategorized बिबाह गरेको ३६ घन्टापछि बेह्ुलाको मृत्यु

बिबाह गरेको ३६ घन्टापछि बेह्ुलाको मृत्यु

211

मृत्युको मुखमा पुगेका एक क्यान्सरपीडितले लामो समयदेखिकी प्रेमिकालाई टेक्सासस्थित एक अस्पतालको बेडमै बिहे गरेर आफ्नो अन्तिम इच्छा पूरा गरे । तर बिहे गरेको ३६ घन्टापछि उनको मृत्यु भएको छ ।
सिएनएनका अनुसार ३ वर्षदेखि ल्यूकेमियासँग लडिरहेका ३३ वर्षीय राउल हिजोजोसाले आफ्नी ११ वर्षदेखिकी प्रेमिका यभोन्ने लामाससँग जीवनको अन्तिम क्षणमा बिबाह गरेका हुन् ।
परिवार र अस्पतालका कर्मचारीले आयोजना गरेको वैवाहिक समारोह अत्यन्तै भावुक माहोलमा सम्पन्न भएको थियो । अस्पतालको सघन उपचार कक्षका निर्देशकले राउललाई आफ्नो पोशाक लगाउन दिएका थिए । अस्पतालको क्यान्टिनका कर्मचारीले केक तयार पारेका थिए । यभोन्नेका आफन्तजनले उनलाई दुलहीको रुपमा सिंगारेका थिए ।
गत अक्टोबरमा राउल सघन उपचार कक्षमा भर्ना भएपछि यभोन्नेले उनलाई निरन्तर साथ दिएकी थिइन् । प्रत्येक दिन उनी राउलको छेउमै वसेर उनको स्याहारसुसार गर्ने गर्थिन् । यो जोडीको एउटा नौ वर्षको छोरा पनि छ भने यभोन्नेको पूर्वश्रीमानको तर्फबाट तीन छोरीहरु छन् । अर्को श्रीमानतर्फका छोरीहरुलाई पनि राउलले आफ्नै छोरासरह माया दिने गरेको यभोन्ने बताउछिन् ।
‘एउटा पिताको रुपमा उनी अन्त्यन्त मायालु थिए र मेरा सन्तानप्रति ममताभाव राख्थे’ यभोन्नेले भनिन् । राउलले यभोन्नेलाई सन् २००७ मै प्रेम प्रस्ताव राखेका थिए । तर अस्पतालको बिलको दवावले गर्दा उनीहरुको बिबाह टर्दै आएको थियो । ‘उनी मसँग धुमधामले बिहे गर्न चाहन्थे’ यभोन्ने भन्छिन्, ‘यहिबीचमा उनलाई क्यान्सर लागेको पहिचान भयो ।’
अन्तत गत शुक्रबार यो जोडी बिहेका लागि तयार भएको थियो । बिहेको भिडियोमा राउलको कोठाबाहिर अस्पतालका कर्मचारीहरु लाम लागेको देखिन्छ । यभोन्ने आफ्नो प्रेमी तथा बाबुको बीचमा बसेकी छिन् । बाबुले उनको हात राउलको हातमा राखिदिन्छन् । त्यसपछि अठोटपत्र वाचन गरिन्छ र उनीहरुले आपसमा आलिंगन तथा चुम्बन गर्छन् । यसो गर्दा त्यहाँ उपस्थितहरुको आँखामा आँशु छचल्किन्छ । ‘क्यान्सर पहिचान भएपछि मैले उनलाई कहिल्यै साथ नछोड्ने वचन दिएकी थिएँ,’ यभोन्ना भन्छिन्, ‘मैले आफ्नो वचन पूरा गरेँ ।’