बिबाह गरेको ३६ घन्टापछि बेह्ुलाको मृत्यु

204

मृत्युको मुखमा पुगेका एक क्यान्सरपीडितले लामो समयदेखिकी प्रेमिकालाई टेक्सासस्थित एक अस्पतालको बेडमै बिहे गरेर आफ्नो अन्तिम इच्छा पूरा गरे । तर बिहे गरेको ३६ घन्टापछि उनको मृत्यु भएको छ ।
सिएनएनका अनुसार ३ वर्षदेखि ल्यूकेमियासँग लडिरहेका ३३ वर्षीय राउल हिजोजोसाले आफ्नी ११ वर्षदेखिकी प्रेमिका यभोन्ने लामाससँग जीवनको अन्तिम क्षणमा बिबाह गरेका हुन् ।
परिवार र अस्पतालका कर्मचारीले आयोजना गरेको वैवाहिक समारोह अत्यन्तै भावुक माहोलमा सम्पन्न भएको थियो । अस्पतालको सघन उपचार कक्षका निर्देशकले राउललाई आफ्नो पोशाक लगाउन दिएका थिए । अस्पतालको क्यान्टिनका कर्मचारीले केक तयार पारेका थिए । यभोन्नेका आफन्तजनले उनलाई दुलहीको रुपमा सिंगारेका थिए ।
गत अक्टोबरमा राउल सघन उपचार कक्षमा भर्ना भएपछि यभोन्नेले उनलाई निरन्तर साथ दिएकी थिइन् । प्रत्येक दिन उनी राउलको छेउमै वसेर उनको स्याहारसुसार गर्ने गर्थिन् । यो जोडीको एउटा नौ वर्षको छोरा पनि छ भने यभोन्नेको पूर्वश्रीमानको तर्फबाट तीन छोरीहरु छन् । अर्को श्रीमानतर्फका छोरीहरुलाई पनि राउलले आफ्नै छोरासरह माया दिने गरेको यभोन्ने बताउछिन् ।
‘एउटा पिताको रुपमा उनी अन्त्यन्त मायालु थिए र मेरा सन्तानप्रति ममताभाव राख्थे’ यभोन्नेले भनिन् । राउलले यभोन्नेलाई सन् २००७ मै प्रेम प्रस्ताव राखेका थिए । तर अस्पतालको बिलको दवावले गर्दा उनीहरुको बिबाह टर्दै आएको थियो । ‘उनी मसँग धुमधामले बिहे गर्न चाहन्थे’ यभोन्ने भन्छिन्, ‘यहिबीचमा उनलाई क्यान्सर लागेको पहिचान भयो ।’
अन्तत गत शुक्रबार यो जोडी बिहेका लागि तयार भएको थियो । बिहेको भिडियोमा राउलको कोठाबाहिर अस्पतालका कर्मचारीहरु लाम लागेको देखिन्छ । यभोन्ने आफ्नो प्रेमी तथा बाबुको बीचमा बसेकी छिन् । बाबुले उनको हात राउलको हातमा राखिदिन्छन् । त्यसपछि अठोटपत्र वाचन गरिन्छ र उनीहरुले आपसमा आलिंगन तथा चुम्बन गर्छन् । यसो गर्दा त्यहाँ उपस्थितहरुको आँखामा आँशु छचल्किन्छ । ‘क्यान्सर पहिचान भएपछि मैले उनलाई कहिल्यै साथ नछोड्ने वचन दिएकी थिएँ,’ यभोन्ना भन्छिन्, ‘मैले आफ्नो वचन पूरा गरेँ ।’