मधेसी मोर्चाले आन्दोलन चर्काउने

280

१५ पुस,
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक संसदबाट पास नभए चुनाव गर्न नदिने निर्णय गरेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला बिहीबार र शुक्रबार दुई दिनसम्म बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त अघि सारेको हो । नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण संसदमा पेश भइसकेको संशोधन प्रस्तावमा छलफल हुन सकेको छैन । गत मंसिर १६ गतेदेखि एमालेले लगातार संसद अवरुद्ध गर्दा संशोधन प्रस्ताव, निर्वाचन कानुन सम्बन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकेको छैन । मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गरेको छ । मोर्चाले यही पुस १८ गते देशभरका जिल्ला सदरमुकाममा बिरोध सभा गर्ने निर्णय पनि गरेको छ ।