भदौं १७,
डडेल्धुरा । विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा अछाममा वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । १४ साउनमा पञ्चदेवल विनायक नगरपालिका–५ र वडा नम्बर ६ का वडाध्यक्षसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता गरिएको थियो ।
नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नम्बर ६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधीनन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
अध्यक्ष बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनी लगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनी लगायत ८ जनाको नाममा किटानी सहित उजुरी दर्ता गरिएको थियो । विद्युत गृह र खानेपानी योजना भत्काउने वडा अध्यक्षलाई कारबाहीका लागि अदालतको अनुमति लिएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अवस्थीले जानकारी दिए ।













