Monday, September 21, 2026
Home खेलकुद डिपिएलका लागि खेलाडीहरुको नाम दर्ता

डिपिएलका लागि खेलाडीहरुको नाम दर्ता

88

काठमाडौँ, १८ पुस आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मङ्गलबारसम्मका लागि तोकिएको थियो ।

खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।
–रासस