दुनै सडकको अन्तिम भिर छिचोल्दै सेना

182

नयाँ पत्रिका दैनिक साउन १८,
डोल्पा । हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न जाजरकोट–डोल्पा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सेनाले पाँच सय मिटरको अन्तिम भिर छिचोल्दै छ ।
सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका अनुसार, अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको काम भइरहेको छ । यो खण्डको एक दर्जनभन्दा बढी भिरमा गाडी गुड्न सक्ने बाटो बनेको छ । ‘थुप्रै चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम चरण पुयाएका छौँ,’ कार्यदल प्रमुख विश्वबन्धु पहाडीले भने । जाजरकोटको पासगाडदेखि डोल्पा सदरमुकाम दुनैसम्म एक सय १७ दशमलव ७ किलोमिटर सडक निर्माणाधीन छ । यसमध्ये खदाङ–त्रिपुराकोट खण्डमा दर्जनौँ भिर रहेका छन् ।

तरपरे भिरमा जोरबल
रुकुम र डोल्पाको त्रिवेणी बजारसम्म ०७३ साउनमा गाडी पुगेपछि डोल्पालाई सडक सञ्जालले छोएको थियो । त्यसयता दुनै पुयाउन भने भिरैभिरले समस्या हुँदै आएको थियो । ‘अप्ठ्यारा थुप्रै भिरमा सफलता पाइसकेका छौँ, अब अन्तिम भिरमा काम भइरहेको छ,’ पहाडीले भने । अहिले त्रिपुरा सुन्दरी नगरपालिकामै पर्ने तरपरे भिरमा काम भइरहेको छ । यो भिर छिचोलेपछि कालिकोट–डोल्पा सडकको अप्ठ्यारो काम सकिनेछ । यसअघि खदाङ–त्रिपुराकोट खण्डकै चिप्ले, श्रीबिन्डे, फोईलगायतका भिरहरूमा गाडी गुड्ने बाटो निर्माण भइसकेको छ । त्यस्तै, मनमई, काला पहाड, तल्नु, कुच्ची र ऐरी बथानलगायत भिरमा पनि सेनाले सडक बनाइसकेको छ ।

अब पाँच सय मिटर
जाजरकोट–डोल्पा सडकको अधिकांश काम सकिएको सेनाले जनाएको छ । निर्माण कार्यदलका अनुसार, अब पाँच सय मिटर मात्रै सडक खन्न बाँकी छ । ‘डोल्पाका बासिन्दाको सडक सपना पूरा हुँदै छ,’ निर्माण कार्यदल प्रमुख पहाडीले भने । यो सडकलाई छिटो पूरा गर्न सेनासँगै स्थानीय बासिन्दा पनि खटिएका छन् । केही महिनाभित्रै दुनैमा सडक पुग्ने सेनाले जनाएको छ । ‘दसैँभित्रै दुनैमा गाडी पु¥याउने गरी काम गरिरहेका छौँ,’ पहाडीले भने ।

तीन सय मजदुर काममा
यो सडक निर्माणमा तीव्रता दिइएपछि सेनासँगै स्थानीय बासिन्दा पनि काममा खटिएका छन् । दैनिक तीन सय मजदुर काम गरिरहेको सेनाले जनाएको छ । त्यस्तै, सेनाले खदाङ र धाउनेमा निर्माण बेस टोली राखेर काम गरिरहेको छ । कम्प्रेसर मेसिनले भिरमा काम भइरहेको जनाएको छ । दैनिक चार–पाँच ठाँउमा ब्लास्टिङ भइरहेको छ भने डोजरको पनि प्रयोग भइरहेको छ ।

स्थानीय बासिन्दा दंग
दुनै नजिक सडक पुग्न थालेपछि स्थानीय बासिन्दा दंग परेका छन् । हप्तौँ लगाएर सुर्खेत तथा नेपालगन्जबाट डोल्पा पुगेको स्थानीय बासिन्दा दुई दिनमै घर पुग्न थालेपछि खुसी भएका छन् । ‘एक महिना हिँडेर काठमाडौँ पुगेको मैँ हुँ । घरबाट हिँडेपछि सकुशल फर्किइन्छ कि उतै रहिन्छ पत्तो हुँदैनथ्यो,’ त्रिपुरा सुन्दरी नगरपालिका–१ का ८० वर्षीय रविप्रसाद न्यौपानेले भने । अहिले दुनै सडक पुग्न लागेको खबरले भने उनी खुसी छन् । गाडी नजिक पुगेपछि सहज भएको स्थानीय तुलबहादुर बोहोराले बताए । ‘दुनैमै गाडी पुगेपछि स्याउ, ओखर त्यसै फाल्नुपर्ने छैन, बेच्न पाइनेछ,’ उनले भने ।

खदाङसम्म गाडी
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिमा–५ खदाङ हरियापानीसम्म जिप र ट्र्याक्टर चल्न थालेका छन् । गत २५ चैतमा पूर्वमन्त्री सत्या पहाडीले रुकुमको त्रिवेणी बजारदेखि खदाङ हरियापानीसम्मको सडक उद्घाटन गरेकी थिइन् । गाडी चल्न थालेपछि दुनैबाट दुई दिनमै प्रदेश सदरमुकाम सुर्खेत पुगिने भएको छ । यसले खाद्यान्न आपूर्तिमा सहज भएको छ । खच्चडमा बोकेर ल्याउनुपर्ने उपभोग्य वस्तु गाडीमा आउन थालेका छन् ।