भूकम्पले ध्वस्त बिद्यालयको अवस्था दयनीय

93

नेपाल समाचारपत्र- असार ५,
काठमाडौं । भुकम्पले ध्वस्त भएका सामुदायिक विद्यालय २ बर्ष भित्र सम्पन्न गर्ने सरकारी योजना पुरा नहुने लगभग पक्कापक्की नै भएको छ । तीन वर्षअघिको भूकम्पबाट ध्वस्त भएका मुलुकभरका सामूदायिक विद्यालय निर्माणका लागि दाताले कबोल गरेको रकम र सरकारले छुट्टाएको रकम ट अपुग भएका कारण सरकारी घोषणा अलपत्र हुन लागेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ९शिक्षा० ले अबको दुई वर्ष भित्र सम्पुर्ण विद्यालय भवन पुनर्निर्माण भैसक्ने दाबी गरेको थियो । आयोजना इकाइका निर्देशक इमनारायण श्रेष्ठले सम्पुर्ण विद्यालय भवन पुनर्निर्माण गर्न अझै २४ अर्ब रुपिया लाग्ने अनुमान गरिएको तर उक्त रकम उपलब्ध हुने सम्भावना नदेखिएको बताउनुभयो । उहाले भन्नुभयो–विद्यालय भवन पुनर्निर्माण गर्न अपुग रकम कसरी जुटाउने भन्ने विषयमा छलफल भैरहेको छ । रकम छैन, दुई वर्ष भित्र कसरी सबै विद्यालय भवन पुननिर्माण गर्न सकिन्छ–उहाले भन्नुभयो ।

भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो । २१ हजार १ सय ६९ कक्षा कोठा पूर्ण र १२ हजार ५ सय २२ कक्षा कोठामा क्षति पुगेको थियो । आंशिक क्षति पुगेको कक्षा कोठाको संख्या १५ हजार नौ सय ९० रहेको थियो । ती मध्ये हालसम्म ३ हजार सात सय ८५ विद्यालय निर्माण सम्पन्न भइसकेका छन् । विद्यालय व्यवस्थापन समिति मार्फत २ हजार ६ सय ८०, आयोजना मार्फत २२ तथा गैर सरकारी संस्था मार्फत १ हजार ८४ विद्यालय सम्पन्न भैसकेका छन् । १ हजार ९सय ९६ विद्यालय निर्मार्णाधिन अवस्थामा छ । ४ सय ९४ विद्यालय निर्माणका लागि छनोट भएका छन् । छनौट भैरहेका विद्यालय भवन निर्माणको क्रममा रहेका छन् ।