Sunday, September 27, 2026
Home खेलकुद को–को पुग्लान् अन्तिम चारमा

को–को पुग्लान् अन्तिम चारमा

131

असार २२,
रसियामा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल शुक्रबार सुरु हुँदैछ। पहिलो खेलमा बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन्। राउण्ड अफ सिक्सटिनमा फ्रान्स अर्जेन्टिनालाई र उरुग्वे पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन्। समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एक मात्रै गोल खाएको छ। लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडी रहेको उरुग्वे तेस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा छ। फ्रान्स पनि सन् १९९८ मा विश्वकप जित्दाको इतिहास दोहोर्‍याउन चाहन्छ। किलियन एम्बाप्पे, एन्टोनियो ग्रेजम्यान, पउल पोग्बा जस्ता खेलाडीहरुले फ्रान्सलाई यो पटक उपाधि दावेदार टोली बनाएका छन्। त्यस्तै शुक्रबार नै मध्यरातमा हुने दोस्रो क्वार्टरफाईनल खेलमा ब्राजिल र बेल्जियम भिड्नेछन्। राउण्ड अफ सिक्सटिनमा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन्। समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको ब्राजिलले त्यसपछि भने कोस्टारिका र सर्बियालाई हराएको थियो। उता बेल्जियमले समूहका तीनवटा खेलमा ट्युनिसिया, पानामा र इंग्ल्याण्डलाई हराएको थियो।