भक्तपुर । सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको २२औँ SAMB अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिता–२०८३ को उपाधी नेपाल पुलिस स्कुलले जितेको छ । सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरको आयोजनामा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालयको टिम ‘red’ र नेपाल पुलिस स्कुल, साँगाबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक एवं उत्साहपूर्ण खेलमा नेपाल पुलिस स्कुलले SAMB ‘Red’ लाई २–१ गोल अन्तरले पराजित गर्दै २२औँ SAMB अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिता–२०८३ को उपाधि हात पारेको हो।
विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका २ टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ टिम सहभागी भएका थिए। प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कुल १९ वटा खेल सञ्चालन भएका थिए।
समापन समारोहमा प्रमुख अतिथि कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी श्री प्रदीप जंग के.सीले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता नेपाल पुलिस स्कुललाई रु. ५०,००० नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
तथा उपविजेता SAMB Red लाई रु. ३०,००० नगद पुरस्कारसहित रनर–अप ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई समेत विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथि केसीले विजेता तथा उपविजेता टोलीलाई बधाई ज्ञापन गर्दै सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, रेफ्री तथा आयोजक पक्षको योगदानको प्रशंसा गर्नुभएको थियो। उहाँले विद्यार्थी जीवनमा खेलकुदको महत्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्याउने योगदानबारे समेत प्रकाश पार्नुभएको थियो।
२२औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजना महाविद्यालयले जनाएको छ ।
समापन समारोहमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक, श्री युद्धकार्य निर्देशनालयका निर्देशक, श्री नेपाली सैनिक वार कलेजका निमित्त शिक्षाधिकृत, SAAN का अध्यक्ष लगायत नेपाली सेनाका वरिष्ठ अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सहभागी विद्यालयका प्राचार्य तथा व्यवस्थापकहरू, प्रशिक्षक, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
















