नेपाल टी-२० लिगमा जनकपुरको सातौँ जित

56

काठमाडौँ । जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा सातौँ जित हात पारेको छ । जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र जोड्यो ।

यस खेलसँगै दुवै टिमको लिग चरणको खेल सकिएको छ । नतिजा अनुसार शीर्षमा रहेका यी दुई टिमले नै एक अर्कासँग क्वालिफायर्समा भेट गर्नेछन् । लुम्बिनी १० खेलमा ८ जित र २ हार सहित १६ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर समान १० खेलमा ७ जित र ३ हार सहित १४ अङ्कको साथमा दोस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चिसो मैदान (वेट आउट फिल्ड)का कारण १७ ओभरमा घटाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेस्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ब्याटिङ प्रदर्शन गरे । ओपनर ब्याटर सराफुदिन असरफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए । ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए । समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलीप नाथले १० रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।