पाँच घेरामा मोदीको सुरक्षा, डीआइजीको नेतृत्वमा भारतीय सुरक्षा टोली नेपाल आयो

260

कान्तिपुर दैनिक- बैशाख १८,
जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् ।
भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको बताए।

काठमाडौंबाट हेलिकप्टरमा जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेछन्। मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ।
दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिनेछ।
सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ। ‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’

वैशाख २८ गते नेपाल भ्रमणमा काठमाडौं पुग्ने भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम छ। मोदीको जनकपुर भ्रमणबारे नेपाल र भारतको सरकारले औपचारिक पुष्टि नगरे पनि यहाँ उनको आगमनको तयारी तीव्र पारिएको छ।
डीआईजीको नेतृत्वमा भारतबाट आएका सुरक्षाकर्मीले जनकपुर भ्रमणको क्रममा मोदी पुग्ने रंगभूमि मैदान र जानकी मन्दिरमा विशेष निगरानी बढाएको छ। नेपाली सुरक्षाकर्मीसँग मिलेर भारतीय सुरक्षाअधिकारीले रंगभूमि मैदानदेखि जानकी मन्दिरसम्मको सडकमा अपनाइने सुरक्षा बन्दोबस्त मिलाएको छ।