युट्युबको ट्रेन्डिङ‘मा सतीदेवी’ को ट्रेलर, हेर्नुहोस्

18

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेबाट अर्को महिलाप्रधान फिल्म ‘सतीदेवी’ प्रदर्शनमा आउँदैछ । फर्स्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्मको अघिल्लो साता सार्वजनिक गरिएको ट्रेलरले सशक्त दृश्यभाषाको छनक दिएको छ । छोरीको संघर्षलाई दर्शाइएको ट्रेलर हेरेपछि दर्शकमा फिल्मप्रति चासो बढेको देखिन्छ । यसैले ट्रेलर युट्युबको ट्रेन्डिङमा समेत परेको छ । फिल्मतर्फ युट्युब ट्रेन्डिङको चौंथो स्थानमा रहेको ट्रेलरलाई एक हप्तामा २ लाख २२ हजार बढी भ्यूज मिलेको छ । ‘स्टारकास्ट’को हिसाबमा यो भ्यूजलाई सुखद् मान्न सकिन्छ । ट्रेलरलाई प्रतिक्रिया पनि अब्बल मिलेको छ । कसैले मन छोएको भन्दै शब्द कोरेका छन् भने कसैले सुपरहिट हुने दाबी गरेका छन् । अभिनेत्री मलिका महत र बाल कलाकारहरुको अभिनयलाई पनि रुचाइएको छ ।

ट्रेलरलाई मिलेको प्रतिक्रियाबाट निर्देशक तथा लेखक लक्ष्मण सुवेदी हर्षित देखिएका छन् । ट्रेलरमा भन्दा धेरै कुरा फिल्ममा रहेको र दर्शकलाई सोच्न बाध्य बनाउने उनी बताउँछन् । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ । फिल्मले अंश र बंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि परिवारप्रति आफ्नो जिम्मेवारी र कर्तव्य निभाउन सक्छन् भन्ने कथा उठाएको छ । ‘सतीदेवी’ले प्रदर्शनभन्दा अगाडि नै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको छ । ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक गरी दुई अवार्ड जितेको फिल्मले यस वर्ष ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा उत्कृष्ट फिल्म, लेखन एवं अभिनेत्रीको विधामा अवार्ड जितेको थियो । फिल्मको गुणस्तरमा विश्वास गर्न सकिने यो ठूलो आधार हो ।