Saturday, September 26, 2026
Home राजनीति मध्यरातमा पार्टी प्यालेसबाट निकाल्नेहरूलाई प्रहरीले पक्राउ गर्न सकेन

मध्यरातमा पार्टी प्यालेसबाट निकाल्नेहरूलाई प्रहरीले पक्राउ गर्न सकेन

70

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा सहभागी हुन आएका महिलाहरूलाई सुतिरहेको ठाउँबाट निकाल्नेहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। तदारूकताका साथ अनुसन्धान अघि बढाउन र उनीहरूलाई पक्रिन प्रहरी उदासीन देखिएको छ। मंसिर ७ गते भएको दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू काठमाडौं आएका थिए। उनीहरूमध्ये ३७ जना महिलाहरू मध्यपुर थिमि नगरपालिकाको लोकन्थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसेका थिए। मंसिर ६ गते राति करिब सवा १० बजे केही युवाहरू पार्टी प्यालेसमा पुगेर ती महिलाहरूलाई अमानवीय र अपमानित तवरले निकालेका थिए। पार्टी प्यालेसबाट निकाल्‍दा ती युवाहरू आफैंले भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेको देखिन्छ। जुन फेसबुक, एक्स (ट्विटर) लगायत सामाजिक सञ्जालमा भाइरल भयो। तर महिलाहरूलाई जबरजस्ती पार्टी प्यालेसबाट निकालेको चार दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छैन।

हामीले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टलाई बास बसेको ठाउँबाट महिलाहरूलाई जबरजस्ती निकाल्नेहरूलाई किन पक्राउ नगर्नुभएको भनेर सोधेका छौं। उनले यसबारे अनुसन्धान भइरहेको र संलग्नहरू फरार रहेको बताए।’मान्छे समाइसकेका छैनौं। केहीको पहिचान भएको छ। अहिले उनीहरू भागिरहेका छन्। उनीहरू चाँडै समातिन्छन्,’ उनले सेतोपाटीसँग भने। त्यो रात पार्टी प्यालेसमा पस्ने कति जना थिए भन्ने यकिन नभइसकेको तर दुई व्यक्ति भने सिसिटिभी फुटेजमा देखिएको एसपी विष्टले बताए। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा युवा संघले लखेट्यो भन्नु है भनेको पनि सुनिन्छ। यसले गर्दा युवा संघकै व्यक्तिहरूको संलग्नता थियो कि भन्ने आशंका जन्माउँछ।