पौडेलको नेतृत्वमा कांग्रेसले जाजरकोटमा बनायो १०० टहरा

46

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा श्रमदानका लागि पुगेको टोलीले एक सय वटा अस्थायी टहरा निर्माण गरेका छन्। कांग्रेसले इन्जिनियर, डकर्मीसहित भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन स्वयमसेवक परिचालन गरेको थियो। पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा स्वयमसेवकहरूले गत मंगलबारदेखि श्रमदान गरेका थिए। शनिबारसम्म एक सय वटा अस्थायी टहरा निर्माण गरिएको कांग्रेस महासमिति सदस्य सुशील भट्टले सेतोपाटीलाई बताए। ‘हामीले एक सय वटा टहरा निर्माण गर्यौं,’ उनले भने, ‘अस्थायी टहरा निर्माण तीब्र रूपमा अघि बढाउनुपर्ने देखिन्छ। चिसोले भूकम्प पीडितलाई समस्या भइरहेको छ।’ पौडेलको नेतृत्वमा कांग्रेसले पहिलो स्वयमसेवक टोली जाजरकोट पठाएको थियो। २५ टोली पठाएर एक हजार वटा अस्थायी टहरा बनाउने कांग्रेसको निर्णय छ। पहिलो टोलीमा गण्डकी प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनयरसमेत रहेका पालुङटार नगरपालिकाका पूर्वमेयर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्तलगायत स्वयमसेवकका रूपमा खटिएका थिए।