सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सुरू, अब तीन-तीन मिनेटमा बस छुट्ने

64

भक्तपुरको सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा आजबाट पुनः सुरू भएको छ। सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। उनका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ। कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रूत सेवाका बसहरू छुट्ने छ। जबकि यसअघि पाँच-पाँच मिनेटको अन्तरमा बसहरू छुट्ने गर्थ्यो। यस्तै बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ। यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने अध्यक्ष स्वाँर बताउँछन्। बेलुकी पनि साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने उनले जनाए।अर्को भनेको मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि ठाउँ छुट्याउने काम पनि यसपटक गरिने स्वाँर बताउँछन्। धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने उनले बताए। ‘यस्ता मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खालि ठाउँ छुट्याइन्छ। जसले गर्दा जाम हुने समयमा पनि उक्त ठाउँमा अन्य सवारी साधन जान पाउँदैनन् र द्रूत बस त्यहाँ गएर रोकिन पाउँछन्। यसले गर्दा जाम खुल्न साथ द्रूत बस अगाडि जान पाउँछन्,’ अध्यक्ष स्वाँरले भने। गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो।