Tuesday, September 22, 2026
Home मनोरन्जन ८० सालको गाईजात्रा प्रज्ञा भवनमा हुने

८० सालको गाईजात्रा प्रज्ञा भवनमा हुने

27

काठमाडौं : कोरोना महामारी पछिको पहिलो गाईजात्रा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने भएको छ। ‘८० सालको गाईजात्रा’ नाम दिईएको यो कार्यक्रम भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ। गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्रालि रहेको छ। मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुबिना अधिकारी, चक्र दवाडीलगायत कलाकारहरुले ‘८० सालको गाईजात्रा’मा दर्शकहरुलाई हँसाउनेछन्।

जेसीज, लायन्स लगायतका संस्थाहरुसँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि ‘८० सालको गाईजात्रा’ आयोजना गर्दैछ। विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने तय भएको छ। साथै अन्य शहरमा पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुने आयोजकले जनाएको छ। कोरोना महामारीका दुई वर्ष पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र उत्प्रेरित गरेको आयोजक ब्राण्डवर्थले यस पटक पनि रंगमंच सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रशारण गर्नेछ। ७ एपिसोडमा प्रशारण हुने ‘डिजिटल गाईजात्रा’को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु यतिवेला रंगमंचमा हुने ‘८० सालको गाईजात्रा’को रिहर्सलमा व्यस्त रहेको आयोजकले जानकारी दिएको छ।