पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

156

काठमाडौँ । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिएका थिए।

अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गर्नुभएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताए ।

उनले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गरे । कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति दिए। पूर्वराजदूत अब्दुल फत्तेहले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘घाँसी’ कविताको अरबी अनुवाद पढेर सुनाएका थिए।