एटिएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो

37

काठमाडौँ । एउटा बैङ्कको कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले अन्तर एटिएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

यसअघि यस्तो कारोबारमा बैङ्क तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । राष्ट्र बैङ्कले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटिएम कारोबार शुल्क घटाइएको हो ।

‘बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’एकीकृत निर्देशिकामा भनिएको छ ।

शुल्क घटाएसँगै राष्ट्र बैङ्कले हरेक अन्तर एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटिएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।