लिखित रूपमै मागे अध्यक्ष चन्दको राजीनामा

26

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागेका छन् । मङ्गलवार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरूले लिखित रूपमा राजीनामा मागेका हुन् । अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, सञ्जयराज सिंह, अमित वीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् । उनीहरूमध्ये ६ जना कार्यसमिति बैठक स्थलमै छन् भने अस्वस्थका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।