नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

50

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगर स्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

नगरपालिकाले पहिलो पटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरू पनि खुसी भएका छन् ।

खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिङ्की बोहराले बताइन् । खाजा खर्चबापत दिँदै आएको भत्ताले आफूहरूलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्गलवार सम्पन्न हुँदैछ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ ।