महानगरले नगरबस सेवा सञ्चालनमा ल्याउने

70

माेरङ । विराटनगर महानगरपालिकाले नगरबस सेवा सञ्चालनमा ल्याउने भएको छ।

बिहीबार महानगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइका क्रममा महानगरका मेयर नागेश कोइरालाले केही महिनाको अन्तरालमा नगरबस सेवा सुरु हुने जानकारी दिए।

कार्यक्रममा मेयर कोइरालाले आउँदो चार महिनाको समयमा विराटनगरको दक्षिणतर्फ रानी, उत्तरतर्फ पुष्पलाल चौक, पूर्वतर्फ विराटनगर १८ भातीगछ, हाटखोला, पश्चिमतर्फ केशलिया खोलासम्म चल्ने गरी नगरबस सेवा सुरु गर्ने बताए।

सुरुवाती ४ वटा रुट बनाएर सेवा सुरु गर्न लागेको महानगरले पहिलो चरणमा कम्तीमा १० वटा बस सेवामा ल्याउने छ।

नगर बस सेवाका लागि विभिन्न चारवटा रुटमा कम्तीमा १ किलोमिटरको दूरीमा विश्राम केन्द्र बनाउने र प्रत्येक ५ मिनेटको समयअन्तरमा बस सेवा उपलब्ध गराउने महानगरले लक्ष्य राखेको छ। जसकारण स्थानीय यात्रुलाई यात्रा गर्न सहज हुने महानगरको बुझाइ छ।

निजी क्षेत्रसँगको सहकार्यमा सुरु गर्न लागेको नगरबस सेवाको लागि महानगरले प्रक्रिया अघि बढाइसकेको छ।

महानगरले स्थानीय र यात्रुको मागअनुरूप बसको संख्या बढाउन सक्ने जनाएको छ। यस क्रममा महानगरले ज्येष्ठ नागरिक, विद्यार्थीलगायतलाई विशेष छुटको प्रावधान राख्ने पनि उल्लेख गरेकाे छ।