एनआरएनए युके अध्यक्ष प्रेम बर्खास्त

141

लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ । पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएको उल्लेख छ ।
‘तपाईका क्रियाकलाप पूर्णरुपमा संघको विधान उद्देश्य प्रतिकूल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिका २९ मध्ये २४ जना पदाधिकारीले उनलाई अध्यक्षको रूपमा अविश्वास गरी कारबाही गर्ने निर्णयसहित केन्द्रमा उजुरी दर्ता गरेका थियो ।
गाहामगरलाई गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजात, कार्यालयका सामग्री कार्यसमितिलाई दुई हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।
उनी संघको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का, गगन थापालगायतलाई जेल हाल्ने धम्की दिएर विवादमा मुछिएका थिए ।