Saturday, September 26, 2026
Home प्रवास एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

83

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३/०२५ कार्यकालका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशबाट चयन हुने नयाँ नेतृत्वका लागि हालका उपाध्यक्ष श्रेष्ठले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे ।

अध्यक्षमा उम्मेदवारी घोषणासगै प्रतिबद्धताहरु सार्वजनिक गर्दै श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए ।