Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय अष्ट्रेलियाका कप्तान फिन्चद्वारा सन्यास घोषणा

अष्ट्रेलियाका कप्तान फिन्चद्वारा सन्यास घोषणा

86

काठमाडौं । अस्ट्रेलिया कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्ध उनले अन्तिम तथा १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।

यद्यपि अर्को महिना घरेलु मैदानमा हुने टी–२० विश्वकपमा भने उनले अष्ट्रेलियाको कप्तानी जारी राख्नेछन्। ‘अहिलेसम्मको यात्रा गजबको रह्यो। उत्कृष्ट एकदिवसीय टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। मैले क्रिकेट खेलेका सबैसँग आशिर्वाद र साथ पाएको छु’, उनले भनेका छन्।

उनले अब अष्ट्रेलियालाई विश्वकप जिताउन नयाँ कप्तानको आवश्यक रहेको औल्याएका छन्। ‘अब अष्ट्रेलियालाई विश्वकप जिताउन नयाँ कप्तानलाई अवसर आएको छ। मलाई यो स्थितिसम्म पुग्न सहयोग गर्ने सबैजनालाई धन्यवाद दिन चाहन्छु।’ गत वर्ष आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि जितेको थियो। पछिल्लो समय खराब लयमा रहेका फिन्चले एकदिवसीय क्रिकेटमा ठूलो इनिङ खेल्न सकिरहेका छैनन्। उनले पछिल्लो सात इनिङ्समा मात्र २६ रन बनाएका छन्।

फिन्चले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपलाई आफ्नो लक्ष्यका रूपमा लिएका थिए तर खराब फर्ममा रहेका उनले अचानक सन्यासको घोषणा गरे। आरोन फिन्चले अष्ट्रेलियाका लागि अधिकांश मुख्य प्रतियोगिताहरू एकल प्रयासमा जितेका छन्। सन् २०१३ मा श्रीलंकाविरूद्ध एकदिवसीयमा डेब्यू गरेका उनले अष्ट्रेलियाका लागि १४५ खेलमा १७ सतक र ३० अर्धसतकसहित ५४०१ रन बनाएका छन्। -एजेन्सी