कोतगढी फर्कियो ५१ वर्षपछि सुन्दरी तोप

91

सुर्खेत । दैलेखको कोतगढीमा ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसगैँ सुर्खेत ल्याइएको थियो । करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।

०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन । कोतगढीमा राखिएको तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएको नेपाली सेनाका उपरथि प्रेम शाहीले बताए । यसले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेको उनले बताए ।