‘अशक्ततालाई नै शक्तिको रुपमा रुपान्तरण गरें’

101

-मीना घोरसाइने

भक्तपुर । ‘त्यतिबेलाको समाज अहिलेको जस्तो थिएन्, पहिले कुनै आँखा नदेख्ने व्यक्तिलाई पूर्व जन्मको पाप वा परिवारले गरेको पापका कारण आँखा नदेखेको भन्ने सामाजिक धारणा थियो’, भक्तपुरका ५८ वर्षीय दृष्टिविहीन सुरज राजभण्डारीले भने । कानूनमा स्नातक तहसम्म अध्ययनरत उनले समाजको त्यही वितृष्णलाई नै शक्तिको रुपमा बदले ।

२०२१ सालमा उनको जन्म हुँदा भने उनी आँखा देख्थे । दुई वर्षको उमेरमा टाइफाइड भएपछि उनले दुवै आँखा देख्न छाडे । पहिले अहिलेको जस्तो उपचार गर्ने कुनै अस्पताल थिएन । उपचार गर्नैपर्ने अन्य देशमा जानुपथ्र्याे । त्यतिबेला उनको परिवारको आर्थिक अवस्था नाजुक नै थियो । जसका कारण उनको उपचार सम्भव भएन् । उनी जन्मँदा उनको परिवार काठमाडौँमा डेरा गरेर बस्थ्यो । पछि उनको परिवार आफ्नै घर भक्तपुर फर्कियो ।
डेरामा रहँदा सुरजको हेरचाहमा समस्या हुने गरेकोमा आफ्नै घरमा फर्किएपछि भने उनको परिवारलाई केही भएपनिराहत मिल्यो ।कुरा २०२७ सालतिरको हो । उनलाई उनको परिवारले भजन मण्डलीमा सहभागी गराए । भजन मण्डलीमा सहभागी हुँदा उनले विभिन्न मानिसहरुबाट बुवाआमाको निधनपछि यसको भाइहरुले हेर्लान् कि नहेर्लान्? यसको अवस्था के हुने होला ? लगायतका कुराहरु गर्ने गर्थे । त्यस्तो कुराले उनलाई धेरै नै पीडा हुने गर्दथ्यो ।

उनको परिवार बाहिर जाँदा उनलाई कहिल्यै सँगै लगिन्नथ्यो । बाहिर जाँदा उनको परिवारले उनलाई कुनै नातेदारसँग छाडेर जाने गर्दथे । उनको औपचारिक शिक्षाको आरम्भ भने २०३१ साल असार ११ गतेबाट किर्तिपुरको ल्याबर्टी स्कुलबाट भएको थियो । शिक्षाको आरम्भ गरेसँगै उनले दृष्टिविहीनले पढ्ने ‘ब्रेन लिपी’सजिलै सिके ।ब्रेन लिपि सिकेसँगै उनले कक्षा २ बाट अध्ययन प्रारम्भ गरेका थिए । उनी अध्ययनमा निकै अब्बल थिए । जसका कारण उनले २०३९ सालमा एसएसी पहिलो श्रेणीमा नै उत्तीर्ण गरे ।
२०३१ सालबाटै उनी रेडियो धेरै नै सुन्ने गर्थे । रेडियोमार्फत रेडियो वाचकको नाम सम्झने गर्थे । रेडियो सुनेकै आधारमा उनले विद्यालयमा पनि आफैं कार्यक्रम प्रस्तोताको भूमिका निभाउने गर्दथे ।विद्यालयमा हुने निवन्ध प्रतियोगिता, कविता वाचन, वादविवाद प्रतियोगिता आदिमा पनि उनले उलेख्य सहभागिता जनाउने गर्थे । साथै जितेर पुरस्कृत समेत हुन्थे ।

चार जना दिदीबहिनी र एकजना भाइको पनि उनलाई राम्रै सहयोग थियो । दृष्टिबिहीन भइसकेपछि विवाह हुँदैन भन्ने सामाजिक धारणा भने त्यतिबेला नभएको होइन । विवाहका लागि उनले धेरै समय नै कुर्नुपर्याे । उनको विवाह २०५६ सालमा भक्तपुरकै प्रतिभा मास्केसँग भयो । उनी पनि शारीरिक अशक्त नै थिइन् । विवाहपछि एक छोरी र एक छोरा भए । विवाहको केही वर्षपछि नै उनको श्रीमतिलाई क्यान्सर देखियो । जसका कारण विवाहको १० वर्षपछि उनको मृत्यु भयो ।

आफू दृष्टिबिहीन भइसकेपछि अन्य कुराले भन्दा अरुले आफ्नो बारेमा गर्ने कुराले नै पीडा हुने उनी बताउँछन् । सानो छँदा आफूलाई वरिपरिका मानिसले धक्का दिने, पानी छ्याप्ने, गोबर छ्याप्ने लगायतका दुव्र्यवहार गर्ने गरेको उनी सम्झन्छन् । भन्छन्, ‘हामी दृष्टिविहीनलाई समाजले हेर्ने धारणा परिवर्तन नभएसम्म हाम्रो विकास हुनै सक्दैन ।’
२०४४ सालमा आइएल उत्तीर्ण गरेका उनले सोही वर्ष नै नेपाल ल क्याम्पसमा स्नातक तहका लागि कानून विषयमा भर्ना भए । विभिन्न कारणले गर्दा आफूले २०५६ सालमा मात्र स्नातक पुरा गरेको उनी बताउँछन् । हाल उनीसँग अधिवक्ताको लाइसेन्स समेत छ । उनले जापानमा गएर समेत चार वर्ष अकुपन्चर र अकुप्रेसर मसाज र जापनीज सोसल सर्भिसको अध्ययन गरेका थिए । उनी जापानी भाषामा समेत पोख्त छन् ।

जापानको अध्ययन पुरा गरिसकेपछि उनले नेपाललाई नै आफ्नो कर्मथलो बनाउने निर्णय गरे । सोही अनुरुप उनले प्राथमिक विद्यालयबाट कामको थालनी गरेका थिए । सुरुवातमा उनले श्री पद्म प्राथमिक विद्यालयबाट अध्यापन सुरु गरेका थिए । त्यसपछि धुलिखेलको सन्जिवनी माध्यामिक विद्यालय र कपिलवस्तुको नेपाल आदर्श विद्यालयमा अध्यापन गराएका थिए । उनले धुलिखेलमा दुई÷तीन महिना मात्र अध्यापन गराएका थिए भने श्री पद्ममा दुई वर्ष र नेपाल आदर्शमा पाँच वर्ष अध्यापन गराएका थिए । उनले दुई ठाउँमा गरेर छ वर्ष अध्यापन गराएका थिए ।

उनले र्यान्बो क्लब लाइब्रेरीमा समेत काम गरेका थिए । त्यहाँ उनले ब्रेन लाइब्रेरी र पत्रिकाका काम पनि गरे । त्यस्तै उनले राष्ट्रिय अपाङ्ग महासंघमा चार वर्ष काउन्सिलरको रुपमा समेत काम गरे । उनी २०४३ सालदेखि नेत्रहीन समूहमा पनि आवद्ध भएका थिए । त्यस्तै उनी भक्तपुर सिबिआर, भक्तपुर जेसिस, रेयुकाइ नेपाल लगायतका संस्थामा समेत आवद्ध भइसकेका छन् ।

उनलाई आठ वर्षभन्दा कम उमेरका कुराहरु खासै याद छैनन् । जब उनी आठ वर्ष पुगे, उनले भक्तपुरमै आफूजस्तै केही आँखा नदेख्ने मानिसहरुलाई भेटे । त्यसपछि भने आफू मात्र आँखा नदेख्ने मान्छे नभएको उनले थाहा पाए । त्यतिबेला उनीहरु आफूभन्दा बढी उमेरका थिए । विद्यालयमा भर्ना भइसकेपछि भने उनीसँगै अरु धेरै आँखा नदेख्ने थिए । त्यतिबेला भन्दा अहिले समाज निकै परिवर्तन भइसकेको उनी बताउँछन् । आँखा नदेख्नु कुनै ठूलो समस्या नभएको उनको बुझाइ छ । उनको बुझाइमा आँखा नदेख्नु र हात खुट्टा नचल्नु उस्तै उस्तै समस्या हुन् । सबैखाले अशक्तता भएका मानिसहरु अवसर पाए जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने उनको जिकिर छ ।

आफूले नबुझुन्जेल उनले परिवारले खासै हौसला पाएनन् ।पहिले आफ्नो बारेमा कसैले केही भन्दा परिवार चुप लागेर बस्ने, आफूलाई पनि केही प्रतिक्रिया नदिन सुझाव दिन्थे ।परिवारमा पनि नदेख्ने मान्छेले केही गर्न सक्छन् भन्ने सम्झाउने चलन थिएन् ।परिवारमा पनि नदेख्ने भनेको गाह्रै हो, दुःखै हो भन्ने धारणा रहेको उनले बताए । उनका अनुसार उनको परिवारमा यसलाई माया गर्नुपर्छ भन्ने सोच थियो । आफूले पढेपछि मात्र परिवारले केही गर्न सक्छ भन्ने बुझेको उनले स्मरण गरे । अहिले उनको परिवारमा उनको भाइको परिवार र उनको परिवार गरी पाँच जना सदस्य छन् । बुवा आमाको भने मृत्यु भइसक्यो । पहिलेदेखिनै आफूमा अरुलाई सिकाएरै काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको उनको भनाइ छ।

आफू सानो छँदा दृष्टिविहीनले काठको काम गर्ने गरेको उनले सुनेका थिए । सिक्यो भने जुन काम पनि गर्न सकिन्छ होला भन्ने आत्मविश्वास उनमा थियो । आफू सामाजिक संस्थामा लागेपछि आफ्नो इज्जत पनि बढेको उनले बताए । आफू विभिन्न संस्थामा रहेर काम गर्दा चिठीपत्र लेख्ने कुरामा अब्बल रहेको उनको जिकिर छ ।
शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई माया भन्दा काम गर्ने अवसर मिलाइदिनुपर्नेमा उनको जोड छ । उनी भन्छन्, ‘आँखा नदेख्दैमा वा शारीरिक अपाङ्गता हुँदैमा उसलाई कसैको साहरा मात्र नभई हौसला पनि आवश्यक पर्छ । साथै यस्ता व्यक्तिहरु विचराको पात्र हुँदैनन् ।’ सरकारले पनि यस्ता व्यक्तिहरुका लागि विभिन्न अवसरहरु जुटाइदिनुपर्नेमा उनको जोड छ ।