Sunday, September 27, 2026
Home राजनीति यस्ताे छ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यकाे पार्टी रुपान्त्रणकाे ११ बुँदे प्रस्ताव

यस्ताे छ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यकाे पार्टी रुपान्त्रणकाे ११ बुँदे प्रस्ताव

63

माघ २२,

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रूपान्तरणका लागि ११ बुँदे प्रस्ताव गरेका छन्।आचार्यले पार्टीलाई गति दिन रूपान्तरणको प्रस्ताव अघि सारेकाे बताएका छन्। उनले अघि सारेको ११ बुँदे प्रस्तावमा अनलाइनबाट पार्टी सदस्यताका लागि दरखास्त दिन सकिनेदेखि भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्त्व गर्नेसम्म रहेको छ।

घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाउन उनले प्रस्ताव गरेका छन्। पार्टी विभागमा रहने व्यक्तिहरु बारे निश्चित मापदण्ड बनाएर (सही व्यक्तिलाई सही स्थान हुनेगरी) विधानमा तोकिएअनुसार ६ महिनाभित्रै ‘अर्थपूर्ण/परिणामदायी विभाग’ गठन गर्न तत्काल गृहकार्य सुरु गर्नुपर्ने आचार्यकाे प्रस्ताव छ।

यस्ता छन् प्रस्तावहरू

१. कांग्रेसको विधानअनुसार अनलाइनबाट समेत अप्लाइ गर्न पाउनेगरी पार्टी सदस्यता वितरण तत्काल खुला गरौं।

२. घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाऔं।

३. पार्टी विभागमा रहने व्यक्तिहरु बारे निश्चित मापदण्ड बनाएर (सही व्यक्तिलाई सही स्थान हुनेगरी) विधानमा तोकिएअनुसार ६ महिनाभित्रै “अर्थपूर्ण/परिणामदायी विभाग” गठन गर्न तत्काल गृहकार्य सुरु गरौं।

४. टोल समितिदेखि केन्द्रीय समितिसम्मलाई तत्काल पूर्णता दिलाऔं र उनीहरूको मासिक बैठक नियमित गराऔं। सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमन समेतको व्यवस्था मिलाऔं।

​५. नेपालको परिप्रेक्ष्यमा प्रजातान्त्रिक समाजवाद/सामाजिक लोकतन्त्रको सान्दर्भिक परिभाषा र कार्यक्रम तय गरौं। जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने आर्थिक सामाजिक उत्थानका ठोस नीति, योजना र कार्यक्रमहरू निर्धारण गरौं। परिणाम देखिनेगरी कार्यान्वयन सुरु गरौं।

६. भात्तृ-शुभेच्छु संस्थाहरूको विधानलाई पार्टी विधानअनुरूप लयवद्ध गराई प्रत्येक वडा तहमा प्रत्येक संस्थाको संरचना निर्माण गराई हालौं र समयवद्ध अनिवार्य महाधिवेशन गर्न लगाऔं।

​७. पार्टीभित्र घात-अन्तर्घातको रोग निदानका सन्दर्भमा न्यायपूर्ण मूल्यांकन पद्धति र कठोर अनुशासन प्रणाली अवलम्बन गरौं।

८. आसन, भाषणलाई व्यवस्थित र एकरूपता प्रदान गर्न पार्टीभित्रका साथीहरूको वरियताक्रम (हाइरार्की) निर्धारण सम्बन्धमा वैज्ञानिक मापदण्ड निर्माण गरौं। र सबै जिल्लालाई सोहीअनुरूप गर्न, गराउन परिपत्र गरौं।

९. पार्टीको नीति अधिवेशन आयोजनको तयारी गरौं र पारित नीति, कार्यक्रमको जगमा भावी निर्वाचन घोषणापत्र तयार गरौं।

१०. विधानअनुसार पार्टी र संविधानअनुसार सरकार संचालन गरौं। कानूनी राज्य र सुशासनलाई सुनिश्चित गरौं।
११. चर्चित सबै भ्रष्टाचार काण्ड, सेटिङ्ग काण्डको छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाऔं। भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्व गरौं।