मुख्यमन्त्री पाण्डेको अभिव्यक्ति खेदजनक : एमाले

80

माघ २०,

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

बिहीबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिप्रति खेद प्रकट गरेका हुन्।

पाण्डेले पदीय मर्यादा विपरित गैरजिम्मेवार र गैरकानुनी अभिव्यक्ति दिएको उनको दाबी छ। मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकारले खर्च नगरे कसले खर्च गर्छ ? भनेर दिएको अभिव्यक्ति गैरजिम्मेवार र पदीय मर्यादा विपरित भएको निरौलाको दाबी छ।

‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आमनागरिक, बुद्धिजीवि तथा सञ्चार क्षेत्रले तीव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुखले सरकारले खर्च नगरे कस्ले गर्छ त ? भन्ने अत्यन्तै गैरजिम्मेवार र पदीय मर्यादा विपरीत अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भुलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालय विभाजन गरेर सरकारले खर्च बढायो भन्ने जनमानसमा परेको भन्दै मुख्यमन्त्री पाण्डेले सरकारले खर्च गर्नुपर्ने तर्क राखेका थिए। मुख्यमन्त्रीले सार्वजनिक सभा, समारोहमा आफ्नो पार्टीको कमिटी नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिडेको उल्लेख गर्दै प्रदेश सरकार र मुख्यमन्त्रीलाई सच्चिन विज्ञप्तिमा भनिएको छ।