१० महिनामा बागमती प्रदेश सरकारको खर्च ३८ प्रतिशत मात्रै

159

जेठ ५,

हेटौंडा : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिना बितिसक्दा कुल बजेटको ३८ दशमलव ४२ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।

कूल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारमध्ये १९ अर्ब ८६ करोड ४६ लाख ५ हजार ८ सय २३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो।

प्रदेश सरकारले यहि गतिमा काम गर्दै जाने हो भने चालु आर्थिक वर्षमा ५० प्रतिशत पनि काम गर्न नसक्ने देखिन्छ। चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारको चालु बजेट २३ अर्ब ७२ करोड ६४ लाख ४० हजार रहेकोमा ८ अर्ब ८६ करोड ३९ लाख ६९ हजार ६ सय २० रुपैयाँ मात्रै खर्च भएको छ। यसैगरी, पुँजीगततर्फ २६ अर्ब ३५ करोड ४८ लाख ५० हजार बजेट रहेकोमा हालसम्म ९ अर्ब ५९ करोड ६४ लाख ९६ हजार २ सय २ रुपैयाँ मात्रै खर्च गरेको छ।

मुख्यमन्त्री कार्यालय नै सबैभन्दा कमजोर

प्रदेश लेखा नियन्त्रक कार्यालयले तयार पारेको तथ्यांक हेर्दा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको खर्च सबैभन्दा कमजोर छ।

मुख्यमन्त्रीको कार्यालयले कुल बजेटको १३ दशमलव ९२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। मुख्यमन्त्री कार्यालयले चालु आर्थिक वर्षमा कुल ७७ करोड ३० लाख ९१ हजार बजेट पाएकोमा १० करोड ७५ लाख ८८ हजार ८ सय ६४ रुपैयाँ मात्रै खर्च गर्न सकेको हो।

कार्यालयले ५६ करोड १७ लाख ६१ हजार चालु बजेटमा ९ करोड ३० लाख ७४ हजार २ सय ८८ रुपैयाँ खर्च गरेको छ। यसैगरी, पुँजीगत बजेटतर्फ २१ करोड १३ लाख ३० हजार बजेट विनियोजन गरिएकोमा एक करोड ४५ लाख १४ हजार ५ सय ७६ रुपैयाँ मात्रै खर्च गरेको छ।