पेट्रोलियम पदार्थको चोरी निकासी बढेपछि आयल निगमले लियो एक्सन

150

फागुन ७,
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो । बिहीबार निगमको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद विक्रिको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न समेत प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रादेशिक कार्यालयहरुले आफु मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरु मध्य दैनिक न्यूनतम ५ वटा पम्पहरुको निरीक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने, दैनिक औषत बिक्रीको परिणाम लिनुपर्ने, बिक्री वितरणको विवरणसहितको बिल राख्नुपर्ने लगायतको व्यवस्था निगमले गरेको छ ।
त्यस्तै, यता बिक्रेता पम्पहरु पनि आफ्नो दैनिक बिक्री वितरणको यथार्थ विवरण राखि अनुगमन कार्यालयहरुलाई उपलब्ध गराउनुपर्ने र सवारी साधनबाहेक,ड्रम, जर्किन, ग्यालिन तथा अन्य उपकरणहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउनुपर्ने निगमले निर्देशन गरेको छ ।
यस्तोमा भारततर्फ जाने ठूलठूला सवारी साधन बस, ट्रक तथा ट्याङकरहरुलाई समेत अधिकतम एक सय लिटरभन्दा बढी तेल भर्न नदिन पम्पहरुलाई निर्देशन गरेको छ । साथै यसो गर्दा समेत चोरी निकासी हुन सक्ने भन्दै निगमले सीमा क्षेत्रमा चेकजाँचलाई समेत कडाई गरिने जनाएको छ ।