नेपाली जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद

141

फागुन ७,
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद निम्तिएको छ । तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि अध्यक्ष आस्था विन्दु मल्लको कार्यशैलीमाथि समितिका सदस्यहरुले प्रश्न उठाएका हुन् । समितिका उपसभापति लक्ष्मण दाहालका अनुसार मे २०१८ मा पाँचौ अधिवेशनबाट आस्था बिन्दु मल्लको सभापतित्वमा दुई वर्षका लागि कार्यसमिति चयन भएको थियो ।

दुई वर्षमा अधिवेशन गर्न नसकेको अवस्थामा ६ महिना कार्यकाल थप्न पाइने वैधानिक व्यवस्था भएपनि उक्त समय समेत गुज्रिसकेकाले अहिलेको समिति स्वत अवैधानिक भइसकेको दाहालले दाबी गरे । उनले अवैधानिक समितिलाई वैधानिक बनाउन आफ्नो नेतृत्वमा अधिवेशन आयोजक समिति गठन गरेर अघि बढ्ने चेतावनी समेत दिए । विधानअनुसार नयाँ महाधिवेशनको मिति तय गर्नुको साटो मनोमानी ढंगले साधारण सदस्यका लागि अनलाईन फराम भराइएको र सभापति मल्लद्धारा गत आइतबार ५ जना सल्लाहकार तथा २ जना कार्य सदस्यहरु एकतर्फी रुपमा नियुक्त गरिएको आरोप पनि दाहालले बताए ।

पाँचौ अधिवेशनमा सभापतिमा पराजित भएका भजिन्द्र क्षेत्री, पूर्व सभापति गंगा थापा श्रेष्ठ, पूर्व सभापति एवम् काँग्रेस महासमिति सदस्य नवराज शिवाकोटी, पूर्व कार्यसमितिका पदाधिकारी, सदस्य, अधिवेशन प्रतिनिधिलगायतले पनि सभापति मल्ललाई विधान नमिच्न तथा सबैलाई समेटेर अघि बढ्न सचेत गराउँदै आएका छन् ।