हत्या गरी फरार आरोपी पक्राउ

394

कार्तिक २३,
काठमाडौँ । ललितपुरको बालकुमारीस्थित गुह्यपोखरीमा ०७६ साउनमा हरी खड्काको हत्या भयो । हत्या गरिएको एक बर्षपछि महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ । हत्यामा संलग्न मुख्य आरोपी मकवानपुरका मान कुमार थिङ उर्फ कुमारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले रातोपाटीलाई बताए ।
उदयपुर कटारी घर भएका खड्काको ०७६ साउन २८ गते आठ जना मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गुह्यपोखरीमा मुर्ति बनाउने काम गर्दै आएका खड्कालाई श्रीमती विष्णु खड्कासँग मिलेर मानकुमार थिङको समूहले हत्या गरेको थियो ।

बिबाहोत्तर सम्बन्धका कारण भएको विवादले हत्याको रुप लिएको थियो । हत्यापछि मुख्य अभियुक्त मान कुमार थिङ फरार थिए । २८ वर्षीय थिङलाई प्रहरीले मकवानपुरस्थित मकवानपुरकागढी गाउँपालिकामा लुकछिपी बसेको अवस्थामा पक्राउ गरेर काठमाडौँ ल्याएको थापाले बताए । खड्काको हत्यामा संलग्न मृतककी श्रीमती, दीपक बम्जन, आरुष थिङ, सागर वाइबालगायत पाँचजना यसअघि नै पक्राउ परिसकेको एसएसपी थापाले बताए । खड्काको हत्यामा संलग्न ३ जना अझै फरार छन् । फरार उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।