अब कालापानीनजिक सशस्त्र प्रहरी सधै बस्ने

192

असोज १०
दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङ्गरुमै बस्ने भएको छ । स्थायीरूपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङ्गरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङ्गरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत ३१ वैशाखमा व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत २८ असारमा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।

सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छाङ्गरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताउनुभयो । सशस्त्र प्रहरीका लागि १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।