वृद्धा हत्याको अभियोगमा एकजना पक्राउ

89

असोज ९,
तनहुँ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा फेला परेको थियो । उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । “घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएका छौं”, प्रहरी उपरिक्षक पौडेलले भने, “थप अनुसन्धान जारी छ ।” -RSS