तपाई, हाम्रो परिवारमा कोरोना नहोला भन्न सकिन्छ र ?

123
सांकेतिक तस्विर

साउन १७,
धनुषा । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरे । तर, उनको मृत्युमा समाजको दुर्व्यवहार र सरकारको त्यो निर्णय पनि त्यतिकै जिम्मेवार छ । कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर प्राण त्यागेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विशेश्वर, पत्नी र चार जना सन्तानलाई घरमै छोडेर रोजगारीको खोजीमा गत माघमा भारतको राजधानी दिल्ली पुगेका थिए ।
लकडाउन केही सहज भएपछि तत्काल रोजगारी पाइने सम्भावना टर्दैगर्दा उनले घर फर्किने निर्णय गरे ।
२७ हजार भारुमा गाडी भाडामा लिए र १६ असारमा महोत्तरीको भिठामोड नाका आइपुगे । उनी दिल्लीबाट फर्किएको सूचना पाएको नगरपालिकाले नाकासम्म ट्रक पठाइदियो । विश्वेश्वर त्यही ट्रक चढेर गाउँ आइपुगे ।

उनलाई गाउँकै पर्शुराम तलाउ माविको क्वारेन्टिन राखियो । २६ असार स्वाब दिएका उनलाई कोरोना संक्रमण भएको रिपोर्ट साउन १ मा आयो । लगतै नगराइन नगरपालिकाको गांगुली आइसोलेसनमा सारियो । उनले यहाँ १० दिन विताए । लक्षण नभएकाले उनलाई पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा उनलाई घर जान दिइयो । क्वारेन्टिन र आइसोलेसन झलेका उनका लागि यो खुसीको क्षण थियो । तरे सोचे जस्तो भएन ।

अन्तिम पटक पीसीआर जाँच नगरी पठाएका कारण उनलाई परिवारले भित्र नपस्न आग्रह गर्‍यो । बालबच्चा सानै भएकाले डराए । स्थानीय राजकिशोर रजकका अनुसार उनलाई खाना पनि पातमा दिन थालियो । गाउँघरमा मानिसले पनि छुइछिटो गर्न थाले । परिवार र गाउँलेको व्यवहारले आजित उनले स्वाब संकलन गरेर जाँच गरिदिन वडाध्यक्षदेखि मेयरसम्म सबैलाई आग्रह गरे । रजक भन्छन्, ‘विशेश्वरले शुक्रबार पनि मेयरलाई स्वाब जँचाइदिन आग्रह गरेका रहेछन् । तर मेयरले यसतर्फ ध्यान दिएनन् ।’

जनप्रतिनिधिले स्वाब संकलन गर्ने, परिवार र गाउँसमाजले यथास्थितिमा स्वीकार नगर्ने व्यवहारले उनलाई आत्महत्याको बाटोतर्फ डोहोर्‍यायो । उनी शुक्रबार घर नजिकैको बगैचामा झुण्डिएको अवस्थामा भेटिए । शव भेटिएको ठाउँमा धानमा छर्किने किटनाशक औषधिको बट्टा पनि भेटिएको विशेश्वरका दाजु लक्ष्मीले बताए ।

स्थानीय अधिकारकर्मी समेत रहेका रजकले अनलाइनखबरसँग भने, ‘विश्वेश्वर परिवार बालबच्चासँग बस्न चाहेका थिए । त्यसका लागि पीसीआर जाँच गराइदिन आग्रह पनि गरेका थिए । तर सम्बन्धित निकायले सुनुवाई नगर्दा उनले आफ्नो प्राण त्यागेका स्थानीयको ओरोप छ । अब भन्नु के तपाई हाम्रो परिवारका सदस्यलाई चाहीँ कोरोना नहोला भन्न सकिन्छ र ? त्यसैले कोरोना जितेर आएका वरपरका जो कोही भएपनि सम्मान गर्न सिकौं ।