बाख्राका बाउ पत्ता लगाउनु पर्ने भन्दै मुद्धा

304

असार २३,
काठमाडौं । बच्चाको बाउ पत्ता लगाउनका लागि डिएनए परीक्षणलगायतका विधि अबलम्ब गरिएको त सुनिएकै हो । नाता कायम गरीपाउँ भनी अदालतमा मुद्दा पनि पर्ने गर्दछन् । तर अमेरिकामा चाहिँ एकजना महिलाले बाख्राको पितृत्व पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । कि त बाख्राको वास्तविक पिता पत्ता लगाउनका लागि पितृत्व परीक्षण गराउनुपर्ने कि त आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

क्रिस हेड्सट्रोमले गत महिना आफ्ना छिमेकी हेथर डेनरमाथि मुद्दा हालिन् । आफूले खरिद गरेका बाख्राको डीएनए टेष्ट गरिनुपर्ने उनेको माग छ । गत डिसेम्बरमा क्रिसले ९ सय डलरमा पाँचवटा बाख्रा खरिद गरेकी थिइन् । छिमेकी साथी डेनरसँग उनले नाइजेरियन पुड्का नश्लका बाख्रा खरिद गरेकी हुन् । अदालतमा दायर गरिएको मुद्दामा आफूले खरिद गरेका बेल्ला, गिगी, रोजी, जेल्डा र मार्गोट नामका बाख्राहरुलाई अमेरिकाको डेरी गोट एसोसिएसनमा दर्ता गर्नका लागि डीएनए परीक्षण हुनुपर्ने उनको माग छ । बाख्राहरु दर्ता गर्दा उनीहरुको पुस्ताको विवरण खुलाउनुपर्ने हुन्छ । त्यसरी दर्ता गरिएका बाख्राहरुको मूल्य दर्ता नगरिएको भन्दा उच्च हुन्छ ।

बाख्रा बिक्रेता डेनरले चाहिँ आफ्नो बाख्रा फार्मबाट विगत १० वर्षदेखि बाख्रा बेचिरहेको र ग्राहकहरुलाई बिक्री गरेका बाख्राहको दर्ताका लागि आवश्यक जानकारीहरु उपलब्ध गराउने गरेको बताएकी छिन् । उनका अनुसार ती बाख्राहरुको पिताको दर्ता भैसकेको छ । तर डेरी गोट एसोसिएसनले चाहिँ डेनर आफ्नो संस्थाको सक्रिय सदस्य नभएको भन्दै उक्त फार्मबाट उत्पादित बाख्राहरुको दर्ता नहुने बताएको छ ।

बाख्राको पितृत्व यकिन गर्न डीएनए टेष्ट गर्नका लागि पिता बोकाको ४० वटा जरैसितका रौँ चाहिन्छन् । त्यसैले हेडस्ट्रोमले डेनरलाई डीएनए परीक्षण गराउनका लागि माग गर्दै फेब्रुअरीमा पत्र लेखिन् । डेनरले भने त्यस्तो आग्रह अस्वीकार गर्दै बरु बाख्रा फिर्ता गर्न आग्रह गरिन् । तीन महिनादेखि हेडस्ट्रोमले आफ्नो बाख्रा फार्ममा पुलिसलाई बोलाएर हैरान गराउने गरेको डेनरले गुनासो गर्ने गरेकी छिन् ।