Friday, September 25, 2026
Home अनौठो गधाको दूधको साबुन !

गधाको दूधको साबुन !

12

एजेन्सी । एउटा अनौठो साबुनले खाडी मुलुकहरूमा तहल्का मच्चाइरहेको छ। त्यो हो गधाको दूधबाट बनेको साबुन। सुन्दा अनौठो लागे पनि संयुक्त अरब इमिरेट्स, जोर्डन, इजिप्टसहितका देशहरूमा यो साबुनको माग आकाशिएको छ। आखिर यो साबुनमा यस्तो के छ, जसले उपभोक्तालाई यति धेरै आकर्षित गरिरहेको छ ? गल्फ न्यूजको एक रिपोर्टअनुसार, जोर्डनको राजधानी अम्मान नजिकै मदाबास्थित एक कम्रपनीले शत प्रतिशत रूपमा गधाको प्राकृतिक दूधबाट यो साबुन उत्पादन गरेको हो। त्यहाँ १२ वटा गधा पालिएका छन् र तिनैको दूध प्रयोग गरी ‘अटन डंकी मिल्क सोप’ नामक कम्पनीले उक्त साबुन उत्पादन गरिरहेको छ।

यो साबुनका फाइदाहरु धेरै छन्। यसलाई छालाको लागि प्राकृतिक वरदान मानिएको छ। वास्तवमा गधाको दूधमा खनिज र प्रोटिनको मात्रा प्रचुर हुन्छ। आहार विशेषज्ञहरूका अनुसार यसमा भिटामिन ए, बी१, बी२, सी र ईका साथै उच्च मात्रामा म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस लगायतका तत्वहरू पाइन्छन्। यो साबुनको प्रयोगले छालालाई लामो समयसम्म नरम राख्नुका साथै सुख्खा हुनबाट जोगाउँछ। एक शोधले देखाए अनुसा गधाको दूधले छालाका कोषहरूलाई पुनर्जीवित गरी चाउरीपना जस्ता बढ्दो उमेरका असरहरू कम गर्न सहयोग गर्छ। साथै यो साबुनले एक्जिमा जस्ता छालाका समस्याहरू ठीक गर्न र डन्डिफोर तथा दाग/धब्बाहरूको प्रभावलाई हटाउनमा समेत योगदान दिने बताइएको छ। गधाको दूधको साबुनमा जैतूनको तेल, बदामको तेल, नरिवलको तेल जस्ता गुणकारी तेलहरू मिसाएर तयार गरिन्छ। यसको मूल्य पनि साधारण साबुनको तुलनामा धेरै रहेको छ । तर, महँगो भए पनि, यसका स्वास्थ्यसम्बन्धी फाइदाहरूका कारण मानिसहरू यसमा पैसा खर्च गर्न पछि हटिरहेका छैनन्।

वास्तवमा गधाको दूधलाई सौन्दर्य प्रसाधनमा प्रयोग गर्ने इतिहास पुरानो छ। इजिप्टकी महान् रानी क्लियोपेट्राले आफ्नो सुन्दरता र कान्ति कायम राख्न गधाको दूधले नुहाउँथिन् भनिन्छ। यो साबुनले त्यही प्राचीन परम्परालाई आधुनिक रूपमा पुनर्जीवित गरेको छ।