रुकुम घटनाः २३ जना पुर्पक्षका लागि थुनामा

312

असार १०
काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले बताए ।

तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ । प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधार गृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको छ । ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो ।

नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।