एक वडाध्यक्ष जो आफैंले एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्‍याउँदै

147

जेठ ९,
डोटी । एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याए ।

खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उनको उपचारका लागि वडाध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलाएर ल्याएका हुन् । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

उनले भने, ‘गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पुर्‍याएँ, उपचार पाउनुभयो ।’ शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैँ एम्बुलेन्स लगेर बिरामीको उद्धार गरेका हुन् । वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइसेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

कोरोना सङ्क्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैंले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताए । उनले भने, ‘जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।’ -रासस