भक्तपुर गएराती घट्यो दुःखद घटना, दुई जनाको मृत्यु

250

असार १,
भक्तपुर । गएराती घटेको दुःखद घटनामा परेर भक्तपुरमा एक महिला र एक युवकको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो घटनामा परेर स्कुटी पछाडी सवार काठमाडौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भिर घाईते भई नेपाल कोरीया मैत्री अस्पताल ठिमी लगिएको परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कार्कीलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागी सोही दिन अन्नपुर्ण न्युरो अस्पताल रिफर गरी उपचार भईरहेकोमा हिजो आईतबार राती ८ बजे मृत्यु भएको हो ।
ठक्कर दिने ट्याङ्करका चालक रामेछाप जिल्ला मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डीएसपी गिरीले बताए ।

त्यसैगरि आइतबार साझँ भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक भत्केकोपाटीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायक तर्फ आउदै गरेको बा ९५ प १४५५ नं को मोटर साइकल आफै अनियन्त्रीत भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो । सो दुर्घटनामा परेर भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष १७ को रन्जित माहाजुको उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा गएराती नै मृत्यु भएको सूचना अधिकारी डीएसपी गिरीले बताए । उक्त मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।