Friday, October 30, 2026
Home समाचार कम धितो राखी धेरै ऋण दिएको आरोप, सिइओसहित चार जना पक्राउ

कम धितो राखी धेरै ऋण दिएको आरोप, सिइओसहित चार जना पक्राउ

60

काठमाडौँ । कामना सेवा विकास बैङ्कको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दिलीप गिरीले जानकारी दिए।  उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्।

डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैङ्किङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।  उनीहरूले बैङ्कबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भएरनभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।

नेपाल राष्ट्र बैङ्कबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो। बैङ्कका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ। अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको उनले बताए।