‘अलपत्र परेका स्वदेशी र विदेशी नागरिकको उद्धार भइरहेको छ’

215

चैत १४,
काठमाडौं । विभिन्न क्षेत्रमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररुपमा अघि बढेको गृह मन्त्रालयले जनाएको छ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेको स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारीसाधनमार्फत बिहीबारदेखि नै उद्धार गरी काठमाडौँ ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मनी दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमानमार्फत आजै पठाइएको छ । विभिन्न निर्माणसम्बन्धी कार्यहरु रोकिएको कारण कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आआफ्नो गृह जिल्लासम्म उद्धार गरी पु¥याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भइसकेको छ भने अन्य जिल्लामा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको छ । फोहरमैला व्यवस्थापन गर्ने कार्य आवश्यक सेवाअन्तर्गत पर्ने भएकाले काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने स्थल नुवाकोट जिल्लाको ओखरपौवामा केही समस्या देखिएको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुखसमेतको उपस्थितिमा आज छलफल भएको जनाइएको छ ।

उक्त समस्या समाधानको लागि महानगरपालिकाले स्थानीय तहसँग आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहरमैला विसर्जन गर्ने कार्यलाई नियमित गराउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय आवश्यकताअनुसार परिचालन गरिएको मन्त्रालयले जनाएको छ । यसैबीच आजै सुरक्षा निकायका प्रमुखहरुसँग बैठक बसी मालबाहक सवारीसाधनको आवागमनका विषयमा देखिएको द्विविधा अन्त्य गर्न, औषधि, खाद्यवस्तु, पानी, दुध, फलफूल, तरकारी, पशुपक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने विषयमा आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यस्ता सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाउने गरी कार्यान्वयन गर्न स्थानीयस्तरमा खटिएका सुरक्षाकर्मीलाई दैनिक रुपमा जानकारी गराउन भनिएको छ । कुनै गुनासो, सल्लाह एवं सुझावहरु भए टोलफ्रि नम्बर ११४९ मा सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । रासस