राजदूतलाई किताब चोरेको आरोप लागेपछि

509
Books HD

पुस ८,
काठमाडौं । पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत रिकार्डो भलेरोले राजीनामा दिएका हुन्। भिडियोमा उनले १० डलरको किताब चोरी गर्ने प्रयास गरेको देखाइएको छ। ७७ वर्षीय भलेरोले स्नायु रोगसम्बन्धी उपचार भइरहेको बताएका छन् । ब्वेनस आइरिजस्थित एक पसलबाट पुस्तक चोर्दै गरेको सीसी टिभीमा देखिएपछि उनलाई विदेश मन्त्रालयले फिर्ता बोलाएको थियो।
गत अक्टोबरमा एल एटिनिओ ग्रयान्ड स्प्लेन्डिडको दराजबाट एक पुस्तक लिएर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएको थियो। १० अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमा कासानोभाको आत्मवृत्तान्त भएको बताइएको छ। घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरेपछि मुद्धालाई अगाडि बढाइएन।

यसअघि भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तराष्ट्रिय विमानस्थलमा एक पसलबाट कमिज चोर्न खोजेको आरोप पनि लागेको थियो। मेक्सिकोका विदेश मन्त्रालयले आइतबार उनको राजीनामा स्वीकृत गरेको हो।
रिकार्डो भलेरो एक महान व्यक्ति हुन्। उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, मेक्सिकोका विदेश मन्त्रीले ट्वीट गरेका छन्। ब्रेन ट्यूमर भएर पनि बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकले सन् २०१३ देखि नै नियाल्दै आएका छन् ।