मन्त्री हेरफेर ‘आज’

105

कान्तिपुर दैनिक
मंसिर ४,
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि ९बुधबार० तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानुहोला ।’

प्रधानमन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए । ‘मैले केही सोचिरहेको छु, भोलि केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरू सबैलाई धन्यवाद,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनुहोला ।’
बैठकमा विदेशमा रहेका दुवै उपप्रधानमन्त्री र शिक्षामन्त्रीसहित केही मन्त्री अनुपस्थित थिए । बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल बैठकमा नआएको मन्त्रिपरिषद् स्रोतको भनाइ छ । यस्तै अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन् । मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको थियो ।

ओलीले आफ्नो भावनाअनुसार काम गर्न नसकेका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरफेर जिम्मेवारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार बिहान नेकपा सचिवालय बैठक पनि बोलाएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।